29/05/2026
काठमाडौमा जन्मिएका डा. वसन्त पन्त कहिले काठमाडौं, कहिले जापान त कहिले पोखरा हुँदै एसएलसीसम्म पढे। बुवा नेपाल प्रहरीमा भएकाले जहाँ पोस्टिङ हुन्थ्यो, उनी पनि त्यहीँ गएर अध्ययन गर्थे। पढाइमा औसत रहेका उनले सेकेन्ड डिभिजनमा एसएलसी उत्तीर्ण गरेका थिए।
बुवाको चाहना छोरालाई डाक्टर बनाउने थियो। त्यसैले उनले वसन्त पन्तलाई त्रिवि शिक्षण अस्पतालमा हेल्थ असिस्टेन्ट पढ्न भर्ना गरिदिए। तर वसन्तलाई डाक्टरी पढाइमा खासै रुचि थिएन। बुवाको करकापमा उनले जसोतसो पहिलो वर्ष पूरा गरे, तर पछि पढाइप्रति मन नलागेर बीचमै भागे। पछि बुवाले फेरि खोजेर भर्ना गरिदिए र उनले दोहोर्याएर पढ्नुपर्यो।
तर त्यसपछि भने उनको सोच परिवर्तन भयो। उनलाई डाक्टर बन्ने तीव्र इच्छा जाग्यो। विदेश गएर पढ्ने सपना थियो, तर परिवारको आर्थिक अवस्था बलियो थिएन। त्यसैले उनले कालिकोटको दुर्गम स्वास्थ्य चौकीमा सरकारी सेवा सुरु गरे, जहाँ उनको मासिक तलब मात्र ३७५ रुपैयाँ थियो।
काठमाडौं फर्किएपछि भने पढाइप्रतिको उनको लगाव यति बढ्यो कि उनी कोठामा बन्द भएर घण्टौं अध्ययन गर्थे। अन्ततः उनले एमबीबीएसमा पहिलो नम्बरमा नाम निकाल्न सफल भए। पाँच वर्षको एमबीबीएसपछि छात्रवृत्तिमा जापान पुगे र त्यहाँ थप पाँच वर्ष अध्ययन गर्दै न्युरोसर्जरीमा विद्यावारिधिसम्म पूरा गरे।
कामप्रतिको उनको समर्पण असाधारण थियो। नेपाल फर्किएपछि शिक्षण अस्पतालमा नियुक्ति नहुँदा पनि उनले आठ महिनासम्म बिना तलब काम गरे। दशैं–तिहारजस्ता पर्वमा समेत उनी प्रायः बिदा लिँदैनथे, काममै व्यस्त रहन्थे।
एक समय नेपालमा न्युरोसर्जनका रूपमा डा. उपेन्द्र देवकोटा मात्र परिचित थिए, त्यसपछि आउने प्रमुख नाम डा. वसन्त पन्तकै हो। त्यतिबेला नेपालमा न्युरोसर्जरीका लागि आवश्यक उपकरणसमेत पर्याप्त थिएनन्। तर आज डा. वसन्त पन्तको टोलीले अन्नपूर्ण न्युरो अस्पतालमार्फत स्नायु सम्बन्धी जटिल शल्यक्रिया मात्र होइन, पोस्ट ग्राजुएसन तहसम्मको अध्ययनसमेत सञ्चालन गरिरहेको छ।
एक समय औसत विद्यार्थी मानिएका डा. वसन्त पन्त आज विश्वमै दुर्लभ मानिने स्नायु शल्यक्रिया गर्ने उत्कृष्ट चिकित्सकमध्ये एक बनेका छन्। देशमै बसेर उनले पुर्याएको योगदानप्रति हार्दिक सम्मान र नमन। 🙏❣️