04/10/2026
https://www.facebook.com/share/p/1BvP1L5vBx/?mibextid=wwXIfr
घोराही उपमहानगरपालिका-१३ की १३ वर्षीया प्रभा मगर अहिले विद्यालय जाने उमेरमा छिन्। तर उनको हातमा किताब-कपी होइन, परिवारको भोक मेटाउने जिम्मेवारी आएको छ। प्रभा ७ वर्षकी हुँदा उनका बुवाको करेन्ट लागेर निधन भयो। त्यसपछि आमाले लेबर काम गरेर जसोतसो प्रभालाई हुर्काउँदै आउनुभएको थियो। प्रभा कक्षा ४ मा अध्ययन गर्दै थिइन्।
तर गत वैशाखदेखि आमा पनि क्यान्सरले थला परेपछि यो परिवारमा झन् ठूलो विपत्ति आइलागेको छ। उपचार गर्ने पैसा छैन, आमा घरमै थला पर्नुभएको छ। अनि १३ वर्षीय प्रभाले विद्यालय जान छोडेर बिहान-बेलुका के खाने, कसरी खाने भन्ने चिन्तामा खानाको जोहो गर्न बाध्य भएकी छिन्। प्रभा भन्छिन्, “कसैले दिएपछि खान्छु, होइन भने भोकै बस्छु।”
१३ वर्षको कलिलो उमेरमा किताब बोकेर विद्यालय जानुपर्ने हातले आज परिवारको भोक मेटाउन सङ्घर्ष गरिरहेको छ। यो दृश्य देखेर जो कोहीको मन पोल्छ।
निर्वाचन आउँदा जनप्रतिनिधिहरू जनताको घरदाइलोमा पुग्छन्, गोठमा पुग्छन्, खेतमा पुग्छन्, जहाँ जस्तो अवस्थामा काम गरिरहेको भए पनि जनताको खुट्टा ढोग्न पुग्छन्। तर आज एउटा बालिका विद्यालय छोडेर भोकसँग लडिरहेकी छिन्। उनकी आमा उपचार नपाएर घरमै रोगसँग लडिरहनुभएको छ। आफू रोगसँग लडिरहे पनि छोरीको चिन्ताले आमालाई झन् पिरोलिरहेको छ।
तर यस्तो ठाउँमा जनप्रतिनिधिको नजर किन पुग्दैन? यो प्रश्न प्रभाको परिवारको मात्र होइन, हाम्रो समाज र जिम्मेवार निकाय सबैलाई हो।